वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग गर्दै वीरगन्ज महानगरपालिका–३२, चोर्नी पर्सामा रहेको नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्राइभेट लिमिटेडका अधिकारीहरूमाथि स्थानीयले दुर्व्यवहार गरेका छन्। आक्रोशित स्थानीयवासीको समूहले कम्पनीका अधिकारीहरूलाई कालो मोसो छर्केको एक स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’बाट निस्किने रासायनिक फोहोर सीधा नजिकैको नदीमा मिसिने गरेको छ। यसले गर्दा नदीको पानी प्रदूषित भई स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको उनीहरूको गुनासो छ।
विशेष गरी, अहिले छठ पर्वको तयारी सुरु भइसकेको अवस्थामा नदीको पानी फोहोर हुँदा पर्व मनाउने व्रतालुहरूलाई स्वास्थ्य समस्या हुने भन्दै स्थानीयहरू आक्रोशित बनेका थिए।
स्थानीयले विगत एक सातादेखि कम्पनीबाट हुने प्रदूषण रोक्न वा कम्पनी नै बन्द गर्न माग गर्दै आएका थिए। तर, माग सुनुवाइ नभएपछि आज चोर्नीका करिब ३० देखि ४० जना स्थानीयको समूह कम्पनीभित्र प्रवेश गरी हो–हल्ला र विवाद गरेको थियो।
विवादकै क्रममा उनीहरूले कम्पनीका अधिकारी काशीनाथ तिवारीमाथि कालो मोसो छर्केर दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।