वीरगन्ज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सम्पूर्ण पार्टी संरचनालाई मतदाता नामावली सूचीकरण अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा परिपत्र जारी गर्दै नयाँ मतदाताको दर्ता कार्यलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि नयाँ मतदाताका लागि नामावली दर्ता गर्ने समयावधि तोकेको छ। यही समयसीमाभित्र बढीभन्दा बढी योग्य नागरिकलाई मतदाता सूचीमा समेट्न कांग्रेस नेतृत्वले प्रदेशदेखि वडा तहसम्मका संरचनालाई छठ पर्व सकिएलगत्तै अभियानमा केन्द्रित हुन निर्देशन दिएको छ।
महामन्त्रीद्वयको परिपत्रमा भनिएको छ, ‘छठ पर्व लगत्तै पार्टीका सबै तहले बैठक आयोजना गरी मतदाता दर्ता अभियानलाई आफ्नो मुख्य कार्यभार बनाउनुहोस्।’ विशेष गरी, जिल्ला समितिहरूलाई तत्काल बैठक बसी सबै निर्वाचन क्षेत्रमा प्रभावकारी टिम परिचालन गर्न भनिएको छ।
साथै, अभियानलाई व्यवस्थित र सफल बनाउन उपल्लो तहका समितिहरूले तल्लो तह, क्षेत्र, वडा सँग आवश्यक समन्वय र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
कांग्रेसले विशेष गरी उमेर पुगेका युवा वर्गलाई लक्षित गरी काम गर्न सुझाव दिएको छ।
परिपत्रमा उल्लेख छ— ‘उमेर पुगिसकेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानका लागि उत्प्रेरित गर्नुहोस्।’ यसका लागि युवा उमेर समूहसँग छलफल गरी उनीहरूकै सक्रियतामा ुमतदाता दर्ता समूहु गठन गरेर दर्ता प्रक्रियामा सहजीकरण गर्न समेत सुझाव दिइएको छ।