ट्रेन्डिङ

माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकीकरण निश्चित, विप्लवलाई पनि समेट्ने प्रयास

वीरगन्ज । नेपाली राजनीतिमा कम्युनिस्ट शक्तिहरूबीच एकताको पहल तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ।

यस महत्वपूर्ण एकता प्रक्रियामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी रहेको बताइएको छ। एकता वार्तामा सहभागी नेताहरूका अनुसार दुई पार्टीबीच सैद्धान्तिक र नीतिगत विषयमा कुनै विमति नरहेकोले एकीकरणमा अब कुनै समस्या छैन।

पार्टीको नेतृत्व कसरी टुंग्याउने भन्ने विषयमा अन्तिम निर्णय गर्ने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई दिइएको वार्ता टोलीका एक सदस्यले बताएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय सीमाभन्दा अगाडि नै एकीकरण घोषणा गर्ने लक्ष्य राखिएको छ।

नयाँ पार्टीको वैचारिक मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने र कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद हुनेमा सहमति जुटेको छ। यसक्रममा माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने नेकपा (एस)ले यसअघि नै जनताको बहुदलीय जनवाद (जबज) छोडिसकेको छ। यद्यपि, जबजका आधारभूत मूल्य मान्यताहरूलाई नयाँ पार्टीको नीति तथा लक्ष्य ‘नेपाली विशेषतासहितको समाजवाद’मा यथावत् राखिएको नेकपा एसका नेताहरूले स्पष्ट पारेका छन्।

पार्टीको नाममा भने ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ मध्ये एक राखिने लगभग पक्का भएको छ। नामको पछाडि ‘समाजवादी’ शब्द अनिवार्य रहनेछ। पार्टीको चुनाव चिन्हको विषयमा भने सहमति जुट्न बाँकी छ। नेकपा एसले कलम नै राख्ने पक्षमा अडिग छ भने माओवादी केन्द्रले अर्को कुनै चिन्ह खोज्ने प्रस्ताव गरेको छ, यद्यपि यसमा पनि ठूलो विमति नरहने नेताहरूको भनाइ छ।

नेतृत्वको विषय टुंग्याउन प्रचण्ड र माधव नेपाललाई जिम्मा दिइएको भए पनि केही मोडालिटीमा छलफल भएको छ। एउटा मोडालिटीमा प्रचण्डलाई संयोजक र माधव नेपाललाई सहसंयोजक बनाउने प्रस्ताव छ। दुई अध्यक्षको विकल्प पहिले नै असफल भइसकेकोले त्यसतर्फ नजान दुवै पक्ष सहमत छन्। विप्लवलाई समेत समेट्दा अध्यक्ष मण्डलको प्रस्तावमा पनि छलफल भइरहेको छ।

वार्ता टोलीका एक सदस्यका अनुसार नेकपा एसभित्र एकता गर्दा एमालेमा फर्किने हो कि भन्ने अन्योल अब हटेको छ। वरिष्ठ नेता झलनाथ खनालको व्यवस्थापन भइसकेको र घनश्याम भुसालको व्यवस्थापन पनि हुने भएपछि एकता प्रक्रियालाई अगाडि बढाउन सहज भएको उनले बताए। प्रचण्ड र माधव नेपालले मुख्य नेतृत्व टुंग्याएपछि दुवै पक्षका पदाधिकारी मिलाएर सचिवालय बनाउने र अरू कमिटीहरू समायोजन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ। विप्लवको सहभागितामा ढिलाइ भए पनि दुई पार्टीबीच भने एकता घोषणा गर्न ढिलाइ नगर्ने र यसले अरू घटकहरूसँग एकताको वातावरण बनाउने बुझाइ नेतृत्वको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै