ट्रेन्डिङ

मधेश प्रदेश सरकार विस्तारबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दै

जनकपुर । मधेश प्रदेश सरकार विस्तारका विषयमा सत्तापक्ष दलहरूको संयुक्त बैठक आज (शुक्रबार) बस्दैछ ।

रौतहटको चन्द्रनिगाहपुरमा बिहान ११ बजेबाट जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बैठक हुने तय भएको छ ।

एक सत्तापक्षीय नेताका अनुसार बैठकमा मन्त्रालयहरूको भागबण्डा, सरकारको कार्यादेश (टिओआर), विश्वासको मत लिने तयारी र सरकार विस्तारको समयबारे विस्तृत छलफल हुनेछ ।

बैठकमा जनमतबाट फुटेर बनेको नयाँ दल जनस्वराज पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने विषय टेबलमा राखिने स्रोतले जनाएको छ ।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र प्रसाद सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई बिना विभागीय मन्त्रीको रूपमा समेटिएको छ ।

तर सत्ताघटक दलबीच मन्त्रालय बाँडफाँट टुंगो नलागेकै कारण एक साताभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । साथै हालका बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकिएको छैन ।

आजको बैठकले मन्त्रालय भागबण्डासहित सरकार विस्तारको विषयमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै