ट्रेन्डिङ

छठ पर्वको बिदा बढाउन मधेसी अधिकृत समाजको सरकारसँग आग्रह

रौतहट । छठ जस्तो लोकआस्था र सांस्कृतिक एकताको महापर्वमा सरकारले दिँदै आएको एक दिने मात्र सार्वजनिक बिदा अपर्याप्त रहेको भन्दै मधेसी अधिकृत समाज नेपालले बिदा विस्तारको माग गरेको छ।

समाजका अध्यक्ष भूदेव झाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको संघीय सरकारलाई छठ पर्वकै सम्पूर्ण चार दिनलाई सार्वजनिक बिदा बनाउन ध्यानाकर्षण गराएका छन्।

चार दिनसम्म कठोर विधि पालनासहित ३६ घण्टासम्म निर्जल उपवास गरिने यस पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालुहरू, विद्यार्थी र सरकारी कर्मचारीहरू गम्भीर असुविधामा पर्ने समाजको तर्क छ।

अध्यक्ष झाले भने, “छठ धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक समरसताको प्रतीक हो । यस्तो महत्त्वपूर्ण पर्वमा बिदा सीमित गर्नु सांस्कृतिक समावेशिताको भावनाविपरीत छ।”

संघीय सरकारले हाल मुख्य दिनमा मात्र बिदा दिने प्रचलन कायम राख्दै आएको भए पनि अध्यक्ष झाले यस निर्णयले धार्मिक समुदायको भावनालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

उनले छठको सम्पूर्ण अवधिलाई समेट्ने गरी बिदा व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

समाजले सरकारलाई धार्मिक विविधता र सांस्कृतिक सम्मानको मर्म अनुरूप निर्णय लिन आग्रह गर्दै छठ पर्वलाई राष्ट्रिय एकताको पर्वका रूपमा मान्यता दिनुपर्ने पनि उल्लेख गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै