कलैया । तिहारको उल्लास र झिलिमिलीमा सारा देश रमाइरहँदा, बाराको सदरमुकाम कलैयाका युवाहरूले भने वर्षौंदेखिको एउटा पीडालाई उत्सवमाथि राखेर संघर्षको बाटो रोजेका छन्।
तिहारको महत्वपूर्ण दिन, भाईटीकाको दिनमा समेत यहाँका नागरिकहरू घरमा पूजाआजा छाडेर सडकमा उभिएर हस्ताक्षर गरिरहेका थिए, त्यो पनि कलैया–सितलपुर सडक खण्डको जीर्ण अवस्थाविरुद्ध।
करिब तीन किलोमिटर लामो यो सडक अहिले कलैयावासीका लागि ‘त्रासदीको बाटो’ बनेको छ। धुलोले स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ भने खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बनाएको छ। नेता तथा स्थानीय सरकारका बारम्बारका झुटा आश्वासनबाट दिक्क भएका युवा सौरभ पाण्डेको अगुवाइमा ‘हाम्रो सडक, हाम्रो अधिकार’ भन्दै ‘वृहत् हस्ताक्षर संकलन अभियान’ सुरु गरिएको छ।
यस अभियानको सबैभन्दा मार्मिक पक्ष तिहारको बेला देखिएको नागरिकको उत्साह हो। बिहानैदेखि बेलुकासम्म टोलीले घर–घर र चोक–चौकमा पुगेर हस्ताक्षर संकलन गरिरहेको छ। भाइटीकाको दिनमा समेत नागरिकहरू लामबद्ध भएर हस्ताक्षर गर्न आएका दृष्यले युवाहरूलाई थप हौसला दिएको छ।
अभियानमा जुटेका सौरभ पाण्डे भन्छन्, ‘चाडपर्व त हरेक वर्ष आउँछ, तर यो सडकले हामीलाई हरेक दिन ‘नरकको यात्रा’ गराइरहेको छ। अब हामी आश्वासन होइन, ‘काम गरेर देखाऊ’ भन्ने सन्देश दिन चाहन्छौं। हामीले तिहारमा रमाइलो गर्न छाडेर सडकमा धुलो चाख्न बाध्य बनाउनेहरूलाई दबाब दिन यो बाटो रोजेका हौं।’
हालसम्म २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ। आयोजक युवाहरूको लक्ष्य ५,००० हस्ताक्षर संकलन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने र सडक निर्माणको काम तत्काल सुरु गर्न बाध्य पार्ने रहेको छ।
यस अभियानलाई स्थानीयवासी, वृद्धवृद्धा, महिला समूह र व्यवसायीको स्वस्फूर्त साथ मिलेको छ। व्यवसायीहरूका अनुसार सडकको जीर्णताका कारण बजारमा ग्राहकको आवागमन घटेको छ भने धुलोले व्यापार व्यवसायमा ठूलो क्षति पुर्याएको छ।
‘यदि हस्ताक्षर बुझाएको केही समयभित्रै सरकारले सडक निर्माणमा ठोस कदम चालेन भने, कलैयावासीहरू अब सडकमा ओर्लनेछन्। त्यसपछि हुने सामूहिक आन्दोलनको जिम्मेवारी पूर्णतया सरकार र ठेकेदार कम्पनीले लिनुपर्नेछ।’युवा अभियन्ताहरूले सरकारलाई स्पष्ट चेतावनी दिए ।