वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हत्यारा र भ्रष्टाचारीको प्रतीक’का रूपमा चित्रण गर्दै कडा आलोचना गरेका छन्।
हिन्दूहरूको महान् पर्व दीपावली, तिहार र छठको अवसरमा रौतहटको कटहरियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले नेपालको राजनीतिक इतिहासमा ‘जेनजी आन्दोलन’लाई सत्य र न्यायको पक्षमा निर्णायक मोडको संज्ञा दिए।
‘देश र संसारमा धेरै आन्दोलन भए—राणा विरुद्धको, माओवादी जनआन्दोलन, मधेश आन्दोलन तर नेपालको दुई दिनको जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ,’ उनले भने ।
साहले तत्कालीन केपी ओली सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई ‘इतिहासकै ठूलो गल्ती’ भन्दै ओलीमाथि आफ्नो आक्रोश पोखे।
उनले जेनजी आन्दोलनलाई अबको राजनीतिको निर्णायक मोड बताउँदै थपे, ‘यो आन्दोलन दलतन्त्र र लुटतन्त्र अन्त्य गर्ने अभियान हो। देश अब युवाको नेतृत्वमा नयाँ दिशातर्फ अघि बढ्नेछ।’
तीन वर्षअघि पार्टी टिकट त्यागेर स्वतन्त्र रूपमा चुनाव जितेको स्मरण गर्दै साहले जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए। उनले भन्सार, वैदेशिक रोजगार, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा आफ्नो लडाइँ जारी रहेको उल्लेख गर्दै ‘षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ’ भन्ने विश्वास व्यक्त गरे।