ट्रेन्डिङ

वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीमा छठ तयारी तीव्र, ६० प्रतिशत काम सम्पन्न

वीरगन्ज । वीरगन्जको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घडिअर्वा पोखरी छठघाटमा यस वर्षको छठ पूजाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी सम्पन्न भइसकेको छ।

समितिले स्वास्थ्य, सरसफाइ र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको छ। सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिनेछ भने स्वयंसेवकहरू समेत सक्रिय रूपमा खटिने छन्।

वीरगन्ज महानगरपालिकाको सहकार्यमा पोखरी परिसरबाहिर खानेपानीका टंकीहरू राख्ने व्यवस्था मिलाइएको छ। समितिका अनुसार करिब २५ लाख रुपैयाँ बराबरको बजेटमा सम्पूर्ण तयारीहरू गरिँदै छन्।

यस वर्षको छठ पर्वमा घडिअर्वा पोखरीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायत जिल्लाहरूबाट मात्र नभई भारतका पूर्वी चम्पारण, मुजफ्फरपुर, पटनासम्मका श्रद्धालुहरू आउने अनुमान गरिएको छ। करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थिति हुने अपेक्षा गरिएको छ।

‘छठ पूजाका लागि कुनै किसिमको दस्तुर वा शुल्क लिइँदैन। हामी पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्छौं र समान पहुँच सुनिश्चित गर्छौं। यहाँ कुनै प्रकारको काखापाखी हुँदैन,’ उनले स्पष्ट पारे।

सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यो पर्वलाई भव्य बनाउन पोखरी क्षेत्रको सजावट, प्रकाश व्यवस्था, सरसफाइ र अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। समितिले भक्तजनलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यका साथ सम्पूर्ण तयारीमा तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै