ट्रेन्डिङ

वीरगन्जमा साईं बाबा मन्दिरको ७औं वार्षिकोत्सवमा भव्य पाल्की यात्रा सम्पन्न

वीरगन्ज । वीरगन्जको धार्मिक तथा सांस्कृतिक परिवेशलाई थप उल्लासमय बनाउँदै सिरडी साईं बाबा मन्दिर सेवा ट्रस्ट परिवारले मन्दिरको सातौँ वार्षिकोत्सव श्रद्धा र उत्साहका साथ मनाएको छ।

वार्षिकोत्सवको प्रमुख आकर्षणको रूपमा निकालिएको भव्य पाल्की यात्राले वीरगन्ज सहरलाई पूर्ण रूपमा भक्तिमय बनाएको थियो।

ट्रस्टका अध्यक्ष प्रवेश कुमार सरार्फको नेतृत्वमा आयोजित यस कार्यक्रममा उपाध्यक्ष सञ्जय प्रसाद कुश्वाहा, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बासुदेव सहनी, सदस्यहरू मनोज कुमार रौनियार, राकेश कुमारसहित ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो।

साईं बाबाको पाल्की यात्रा गीता मन्दिर रोडस्थित मन्दिर परिसरबाट प्रारम्भ भएको थियो। यात्राका क्रममा भक्तजनहरूले साईं भजन, कीर्तन, धूप(दीप र फूलमालाको प्रयोग गर्दै सम्पूर्ण वातावरणलाई भक्तिभावले ओतप्रोत बनाएका थिए। माईस्थान, अलखियामाठ, आदर्शनगर, मकालु होटल र घडिअर्वा चोक हुँदै पाल्की पुनः मन्दिर परिसरमै आएर समापन गरिएको थियो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै ट्रस्टका अध्यक्ष सरार्फले पाल्की यात्रापछि मन्दिरमा विशेष पूजाआजा र आरती कार्यक्रम सम्पन्न भएको बताए।

आयोजक समितिले जनाए अनुसार धार्मिक कार्यक्रमलाई निरन्तरता दिँदै दिउँसो २ बजेदेखि भण्डारा (महाप्रसाद वितरण)को आयोजना गरिएको छ भने साँझ सामूहिक सत्सङ्ग र भजन कीर्तनको कार्यक्रम रहेको छ।

सहभागी भक्तजनहरूले यस भव्य वार्षिकोत्सवले वीरगन्जमा धार्मिक सद्भाव, एकता र सामूहिक सहभागिताको सुन्दर सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै