जनकपुरधाम । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निर्धारित समयमै निर्वाचन गराउनुपर्ने स्पष्ट अडान राखेका छन्।
धनुषाको जनकपुरमा पत्रकारहरूसँगको भेटमा नेता प्रचण्डले अन्तरिम सरकारलाई यस विषयमा गम्भीरताका साथ प्रस्तुत हुन र तत्काल निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
‘सरकारले हिजो संसदीय दलहरूसँग गरेको वार्ताले निर्वाचनप्रति केही गम्भीरता देखाएको जस्तो आभास भए पनि, पूर्ण रूपमा निर्वाचनको वातावरण बनिसकेको छैन,’ उनले टिप्पणी गरे।
प्रचण्डले निर्वाचन घोषणा भइसकेपछि सम्पूर्ण ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने अडान राख्ने पहिलो पार्टी माओवादी केन्द्र नै भएको दाबी गरे। जेएनजी आन्दोलनपछि सार्वजनिक अपिल गर्ने र काठमाडौं उपत्यका बाहिर पहिलो कार्यक्रम गर्ने पनि माओवादी केन्द्र नै भएको उनको भनाई छ।
राजनीतिक ध्रुवीकरणको विषयमा बोल्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरू एकता प्रक्रियामा अगाडि बढेको जानकारी दिए। उनले आस्था र विश्वासको महान् पर्व छठ सकिएलगत्तै मुलुकको वामपन्थी आन्दोलनले एकताको नयाँ परिस्थिति र स्वरूप लिने विश्वास व्यक्त गरे।