काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज देशभर गाईपूजा पर्व मनाइँदैछ।
वैदिक सनातन परम्पनाअनुसार गाईलाई पवित्र मान्दै पूजाआजा गरी मीठा परिकार खान दिने प्रचलन रहिआएको छ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’का रूपमा सम्मान गरिन्छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा सोस्ने र त्यस ऊर्जा दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति सञ्चार गर्ने भएकाले गाईको धार्मिक र वैज्ञानिक दुवै महत्व रहेको मानिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार, कार्तिक शुक्ल प्रतिपदाको दिन गाईपूजा गर्नु शास्त्रीय दृष्टिले उचित मानिन्छ।
केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा गाईपूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार, हरेक धार्मिक कर्ममा गाईदानको व्यवस्था छ। गाईको अभावमा प्रतीकस्वरूप पैसा राखी ‘गाईको अभावमा’ भनी सङ्कल्प पढ्ने प्रचलन समेत छ।
गाईलाई गौमाताको रूपमा सम्मान गर्दै नेपालमा राष्ट्रिय जनावरका रूपमा स्थापित गरिएको छ।
धार्मिक विश्वासअनुसार, आजको दिन गाईको पुच्छरमा साउन शुक्ल पूर्णिमाका दिन बाँधिएको रक्षाबन्धन बाँधिदिए मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने विश्वास रहिआएको छ।