ट्रेन्डिङ

रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी, करिब ३५ लाख रुपैयाँको क्षति

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी हुँदा बस पूर्णरूपमा नष्ट भएको छ।

आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले बताएका छन्।

काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बसको ब्रेक जाम भई तार सर्ट भएपछि आगलागी भएको हो।

बस रोकिएलगत्तै यात्रुहरू समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको डिएसपी लाबुङले जानकारी दिइन्।

आगलागीका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पनि अहिले सवारी आवागमन सहज भएको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरीले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै