वीरगन्ज । आगामी फागुन २१ गतेका लागि घोषित आम निर्वाचनको तयारी र समग्र राजनीतिक वातावरणका विषयमा केन्द्रित रही प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्णायक छलफल गर्दैछिन्।
अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने यस महत्वपूर्ण भेलामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका प्रमुख दलका नेताहरूलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनको रापपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। यो सरकारको मुख्य जिम्मेवारी नै तोकिएको मिति फागुन २१ मा निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नु हो।
तथापि, सरकार गठन भएयता प्रधानमन्त्री कार्कीले पुराना दलहरूका क्रियाकलापप्रति लिएको कडा रबैयाका कारण राजनीतिक वृत्तमा तिक्तता बढेको छ। निर्वाचनको वातावरण बिथोल्न खोजिएको र दलहरूमाथि अनावश्यक दबाब सिर्जना गरिएको आरोप अन्तरिम सरकारमाथि लागिरहेको बेला यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यो भेटघाटले निर्वाचन तयारीमा देखिएका राजनीतिक जटिलता र अन्तरिम सरकार तथा दलहरूबीचको बढ्दो ‘ग्याप’ लाई कम गर्ने अपेक्षा गरिएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले समेत प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक समन्वयका लागि दलहरूसँग छलफल गरिसकेका छन्।
आजको छलफलले निर्वाचन कार्यतालिका, सुरक्षा प्रबन्ध, आवश्यक कानुन निर्माण र सबै पक्षको विश्वास जित्ने वातावरण तयार गर्नका लागि निर्णायक भूमिका खेल्ने विश्लेषकहरूको ठम्याइ छ। अन्तरिम सरकार र दलहरूबीचको सहकार्य निर्वाचन सम्पन्न गराउने एक मात्र विकल्प रहेकाले बालुवाटारको आजको बैठकलाई उत्सुकताका साथ हेरिएको छ।