सर्लाही। हिन्दूहरूको महान् चाड तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ।
चाडपर्वको अवसरमा हुनसक्ने अवाञ्छित घटना तथा आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि जिल्लाभर संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी एकाइहरूको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त टोलीले नगर बजार क्षेत्र र ग्रामीण बस्तीहरूमा विशेष गस्ती सुरु गरेको छ।
प्रहरीका अनुसार, यस संयुक्त गस्तीको मुख्य उद्देश्य चाडपर्वको मौका छोपी हुनसक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाट लगायतका कुनै पनि किसिमका आपराधिक गतिविधिहरूलाई हुन नदिनु हो।
सुरक्षा टोलीले बजार तथा भीडभाड हुने क्षेत्रहरूमा पैदल गस्ती र अन्य ठाउँहरूमा सवारी गस्ती मार्फत निगरानी बढाएको छ। यस विशेष सुरक्षा परिचालनले सर्लाहीका नागरिकहरूलाई भयरहित वातावरणमा पर्व मनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।