कञ्चनरुप । सप्तरीको कञ्चनरुपबाट प्रकाशित अवलोकित दैनिकका पत्रकार अनिश शेखमाथि भएको दुर्व्यवहार घटनापछि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले गल्ती स्वीकार गर्दै आत्मालोचना गरेका छन्।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको मध्यस्थतामा आइतबार भएको छलफलपछि दुवै पक्षबीच आपसी सहमति कायम भई विवाद टुङ्गिएको हो।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा सम्पन्न छलफलमा मेयर गुप्ताले उक्त घटनाप्रति दुःख प्रकट गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्ने र भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका थिए।
अग्रज पत्रकार उत्तम आचार्यका अनुसार, मेयर गुप्ताले मौखिक र लिखित दुवै रूपमा आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेका छन्। छलफल सकारात्मक माहोलमा सम्पन्न भएको र पत्रकार शेखसँग मिलापत्रमा हस्ताक्षर गरिएपछि दुबै पक्षबीच समझदारी कायम भएको उनले बताए।
यसअघि पनि मेयर गुप्तामाथि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालमाथि दुर्व्यवहार गरेको आरोप लाग्दा जिल्ला प्रशासन कार्यालयको रोहवरमा सहमति भएको थियो।
यो घटनापछि मेयर गुप्ताले नगरपालिकाको नेतृत्वमा रहेर पारदर्शी शासन प्रणाली र सञ्चारमाध्यमसँग सहकार्यमा आधारित कार्यशैली अपनाउने आश्वासन दिएका छन्। पत्रकार महासंघ सप्तरीले यसलाई प्रेस स्वतन्त्रताको सम्मान र जिम्मेवार नेतृत्वतर्फको सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ