ट्रेन्डिङ

सिरहामा विपन्न दलित परिवारलाई लहान नगरपालिकाद्वारा किरिया खर्च र राहत सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले नगरभित्रका विपन्न दलित तथा मुसहर समुदायका मृतक परिवारलाई किरिया खर्चसहित राहत सामग्री वितरण गरेको छ।

गत एक साताको अन्तरमा बाबु–आमा गुमाएका लहान–१५, लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायलाई आइतबार नगर प्रमुख महेश चौधरी स्वयं पीडितको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

७० वर्षीय बौधु सदाय र क्यान्सर पीडित श्रीमती कुमारीको निधनपछि दैनिक ज्यालादारीमा निर्भर शिवशङ्करलाई नगरपालिकाले एक क्विन्टल चामल, दाल, नून, तेललगायत खाद्यान्न सामग्री तथा किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको हो।

यसअघि चार दिनअगाडि निधन भएका लहान–२४, मल्हन मुसहरी टोलका ७८ वर्षीय तेजीलाल सदायका परिवारले पनि यस्तै प्रकृतिको राहत प्राप्त गरेका छन्।

नगर प्रमुख चौधरीले उक्त परिवारलाई समेत किरिया खर्चसहित राहत सामग्री हस्तान्तरण गरेका थिए।

नगर प्रमुख चौधरीले दलित, विपन्न तथा मुसहर समुदायका परिवारमा मृत्युजस्ता दुःखद अवस्थामा नियमित रूपमा सहयोग पुर्‍याउने कार्यक्रम सञ्चालनमा रहेको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै