वीरगन्ज । देशको शान्ति सुव्यवस्था र सुशासनलाई आम नागरिकले महसुस गर्ने गरी प्रत्याभूति दिलाउन गृह मन्त्रालयले देशैभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई ६३ बुँदे विस्तृत निर्देशन जारी गरेको छ।
गृहसचिव स्तरीय निर्णयबाट जारी गरिएको यस निर्देशनले विशेषगरी आगामी निर्वाचन, सुशासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
मन्त्रालयले जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न र अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएको छ। ‘विभिन्न बहानामा हुन सक्ने अवाञ्छित गतिविधि, चन्दा आतङ्क, र कानुन विपरीतका कार्यलाई कडाइका साथ नियन्त्रण गरी आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न’ सीडीओहरूलाई भनिएको छ। लागूऔषध, अवैध मदिरा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न विशेष सतर्कता अपनाउन जोड दिइएको छ।
नागरिकहरूलाई सेवा प्रवाह सहज बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सरल, सहज र पारदर्शी बन्न निर्देशन दिइएको छ। अनावश्यक झन्झट हटाउँदै ‘टाइम कार्ड’ लागू गर्न र नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउन भनिएको छ। यसका साथै सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गर्न पनि जोड दिइएको छ।
आसन्न फागुन २१ मा तोकिएको निर्वाचनलाई केन्द्रमा राख्दै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनविरोधी गतिविधि र भूमिगत समूह द्वारा हुन सक्ने कुनै पनि गतिविधिको पहिचान तथा नियन्त्रणमा विशेष सतर्कता अपनाउन भनिएको छ।