वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्वलाई शान्तिपूर्ण तथा उल्लासमय वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कडा सुरक्षा मापदण्ड जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज एक सूचना जारी गर्दै आम नागरिकलाई नियम पालनाका लागि अनुरोध गरेका छन्।
प्रशासनले पटका ओसारपसार, बेचबिखन र पट्काउन पूर्ण रूपमा निषेध गरेको छ। पटकाको ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, समाजमा हुने भय र आगलागीको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
जारी गरिएका निर्देशनअनुसार, रात्रिको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी देउसी–भैलो कार्यक्रमहरू राति ९ बजेसम्म मात्र खेल्नुपर्नेछ। ९ बजेपछि खेलिने वा खेलाइने देउसी–भैलोलाई बन्द गरिनेछ।
त्यसैगरी, चाडपर्वका बेला खेलिने जुवातासले परिवारको आर्थिक अवस्था कमजोर पार्ने र झै–झगडा बढाउने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन प्रशासनले अनुरोध गरेको छ। परम्परागत छठ पर्वमा नदी, ताल, तलाउमा हुने पूजापाठबाहेक अन्य दिनमा गरिने खुला ठाउँका मेला पर्वहरू पनि राति १० बजेभित्र सम्पन्न गर्नुपर्नेछ।
प्रशासनले मेला र पर्वको उपलक्ष्यमा मादक पदार्थ सेवन नगर्न र आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखी माछामासु, चिल्लो तथा गुलियो पदार्थ ठिक्क मात्रामा मात्र सेवन गर्न सुझाव दिएको छ। साथै, अत्यावश्यक सेवासँग सम्बन्धित सरकारी काममा बाहेक सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन पनि निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले नियमहरूको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्। शान्ति सुरक्षाको विषयमा कुनै समस्या आए नजिकको सुरक्षा निकाय, नेपाल प्रहरीको कन्ट्रोल १०० वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
