वीरगन्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लामो समयदेखिको नेतृत्वमा परिवर्तन आएको छ।
पार्टीका संस्थापक महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट स्वैच्छिक राजीनामा दिएका छन्। उनको स्वास्थ्य अवस्था र ८० वर्षको उमेरलाई मुख्य कारण देखाउँदै उनले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
वैद्यको राजीनामापछि पार्टीको केन्द्रीय समितिले वरिष्ठ नेता सीपी(चन्द्रप्रकाश) गजुरेल ‘गौरव’लाई नयाँ महासचिवको जिम्मेवारी सुम्पेको छ।
नवनियुक्त महासचिव गजुरेलले भने, ‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन। त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ।’ उनले वैद्य अब पार्टीको सल्लाहकार र विशेष कमिटीमा रही पार्टीलाई वैचारिक मार्गदर्शन गरिरहने स्पष्ट पारेका छन्।
मोहन वैद्य ‘किरण’ नेपाली कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण हस्ती हुन्। २०६९ सालमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विद्रोह गरी उनकै नेतृत्वमा नेकपा माओवादी गठन भएको थियो। पछिल्लो समय २०८१ मंसिरमा विभिन्न क्रान्तिकारी समूहहरूबीच एकता भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबाट उनी सर्वसम्मत महासचिव बनेका थिए।
वैद्यको यो निर्णयलाई पार्टीभित्र नेतृत्वको जिम्मेवारी हस्तान्तरणको प्रक्रियाको रूपमा लिइएको छ, जसले सीपी गजुरेलको काँधमा पार्टीलाई अगाडि बढाउने जिम्मेवारी आएको छ।