काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँमा सीमित भएको छ।
यसअघिको शुक्रबारको कारोबारमा सुन हालसम्मकै उच्च बिन्दु तोड्दै तोलामा २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि कमी आएको छ।
शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुन–चाँदीको मूल्यमा आएको यो गिरावटको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय बजारको माग–आपूर्तिसँग सम्बन्धित रहेको अनुमान गरिएको छ।