ट्रेन्डिङ

देशभर काग तिहार मनाइदै, तिहार पर्व औपचारिक रूपमा सुरु

काठमाडौँ । आज देशभर तिहार पर्वको पहिलो दिन अर्थात् काग तिहार हर्षोल्लासका साथ मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आजबाट औपचारिक रुपमा प्रारम्भ भएको हो।

यस वर्ष त्रयोदशी तिथि बिहान सूर्योदयको समयमा परेकाले आज आइतबार शास्त्रसम्मत विधिअनुसार काग तिहार मनाइँदैछ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ। यसअन्तर्गत पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार तथा पाँचौँ दिन भाइटीका गरी पाँच दिनसम्म विविध सांस्कृतिक र धार्मिक कार्यक्रमसँग मनाइन्छ।

वैदिक सनातन हिन्दु परम्पराअनुसार कागलाई यमराजका सन्देशवाहकका रूपमा पूजा गरिन्छ।

नेपाली समाजमा अझै पनि ‘काग करायो भने पाहुना आउँछ’ भन्ने जनविश्वास प्रचलित छ।

यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरी दहीभातसहित विभिन्न परिकार अर्पण गर्ने परम्परा रहिआएको छ। ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात खुवाएमा ऊ यमराजसमक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास रहेको छ।

जनप्रचलित मान्यताअनुसार आजको दिन कागलाई अर्पण नगरी स्वयंले परिकार ग्रहण गरे पापको भागी बन्नुपर्छ भनिन्छ। त्यसैले आज कागलाई प्रसन्न पार्दै यमदण्डसम्बन्धी संकटबाट मुक्ति पाउन प्रार्थना गरिन्छ।

यो पर्वले मात्र धार्मिक सन्देश नदिई मानव र जनावरबीचको सम्बन्ध, पक्षीप्रतिको कृतज्ञता तथा प्रकृतिप्रतिको सम्मान गर्ने भाव जागृत गराउने सांस्कृतिक महत्त्व पनि बोकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै