वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज १२ लाख रुपैयाँ बराबरका वेवारिसे पटाकाहरू नष्ट गरिएको जानकारी दिएको छ।
विज्ञप्तिअनुसार, जिल्ला प्रहरी कार्यालय पर्साका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले नियमित चेकजाँचको क्रममा ती पटाकाजन्य पदार्थहरू नियन्त्रणमा लिएका थिए। यसरी नियन्त्रणमा लिइएका पटाकाहरूलाई आजै स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसरभित्र विधिवत् रूपमा नष्ट गरिएको छ।
चाडपर्वको समयमा अवैध पटाकाको ओसारपसार र प्रयोगले निम्त्याउन सक्ने सम्भावित सुरक्षा जोखिम र दुर्घटनाहरूलाई मध्यनजर गर्दै प्रहरीले सीमा नाका तथा बजार क्षेत्रमा विशेष निगरानी बढाएको छ ।