वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भर्खरै मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेका वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई केन्द्रीय कार्यालय बबरमहलमा एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ।
पार्टी अध्यक्ष माननीय महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री सोनललाई बधाई ज्ञापन गर्दै उनको कार्यकाल सफलताको शुभकामना दिइएको छ।
सम्मान ग्रहण गर्दै मुख्यमन्त्री सोनलले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउनुमा सम्पूर्ण पार्टी नेतृत्वको मार्गदर्शन र मधेश प्रदेशका नागरिकको समर्थनको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले संघीय लोकतान्त्रिक मोर्चालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मधेश आन्दोलन लगायत तमाम अधिकार प्राप्तिको आन्दोलनमा शहादत दिनुहुने वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री सोनलले शहीदहरूको बलिदानलाई आफ्नो प्रेरणाको स्रोत मान्दै, उनीहरूको सपना साकार पार्न र मधेश प्रदेशको विकास, सुशासन तथा समृद्धिका लागि प्रतिबद्ध रहने वाचा गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष महन्थ ठाकुरले नवनियुक्त मुख्यमन्त्री सोनललाई बधाई दिँदै प्रदेश सरकारलाई जनताको अपेक्षा अनुसार काम गर्न मार्गदर्शन गरे। उनले लोसपाले सदैव मधेश र मधेशी जनताको अधिकारका लागि संघर्ष गर्दै आएको र सोही भावना अनुरूप प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए।