वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको वातावरण र सुरक्षा व्यवस्थाका विषयमा छलफल गर्न आज शीतल निवासमा प्रधानमन्त्री, गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक सम्पन्न गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकायको तयारीका बारेमा जानकारी लिन राष्ट्रपतिले यो बैठक आयोजना गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयले जनाए अनुसार बैठक निर्वाचनको सुरक्षा तयारीमा केन्द्रित थियो। छलफलका क्रममा चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)का प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
सुरक्षा प्रमुखहरूले विगतमा अहिलेको भन्दा कठिन र चुनौतीपूर्ण अवस्थामा समेत सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको अनुभव र दृष्टान्तहरू प्रस्तुत गर्दै, आगामी निर्वाचनलाई पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सकिनेमा विश्वस्त तुल्याएका थिए। यसबाट अन्तरिम सरकारलाई निर्वाचनको सुरक्षा तयारीका लागि थप बल मिलेको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूको समेत उपस्थिति थियो।
यद्यपि, आगामी निर्वाचनको तयारीका लागि सुरक्षा निकायले प्रतिबद्धता जनाए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा सहभागी नहुने र बहिष्कार गर्ने नीति लिँदा सुरक्षा चुनौती थपिएको छ।
पूर्व प्रधानमन्त्री ओलीको राजीनामापश्चात् अन्तरिम सरकार गठन भएसँगै एमालेले संसद विघटनको कदमलाई असंवैधानिक भन्दै विरोध गर्दै आएको छ। एमालेले निर्वाचन बहिष्कारको नीति लिँदा निर्वाचनको वैधतामाथि नै प्रश्न उठ्न सक्ने र बहिष्कारका कारण उत्पन्न हुन सक्ने सम्भावित अवरोध र शान्ति सुरक्षाका चुनौतीलाई बैठकमा गम्भीरताका साथ लिइएको बुझिएको छ।