वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो देशव्यापी प्रादेशिक अधिवेशन अभियानलाई निरन्तरता दिँदै आज कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको छ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशनको तयारी पूरा भएको छ।
पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यसै क्रममा, जसपा नेपालले मधेश प्रदेश समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न गरी नेतृत्व चयन गरेको छ। मधेश प्रदेश समितिको अधिवेशनबाट महत्वपूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह चयन भएका छन् । पार्टीले मधेश प्रदेश समितिका बाँकी पदाधिकारी र सदस्यहरू निर्वाचित हुने प्रक्रियामा रहेको जानकारी दिएको छ।
जसपा नेपालले कोशी र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेपछि कर्णाली प्रदेशमाथि ध्यान केन्द्रित गरेको छ। पार्टीले अब बाँकी प्रदेश समितिहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ। लुम्बिनी प्रदेश समितिले आगामी कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरिसकेको छ।