ट्रेन्डिङ

वीरगन्ज–५ मा नक्साविहीन भवन निर्माणविरुद्ध उजुरी, वडाध्यक्ष चौरसियामाथि नै निर्माणकर्तालाई सहयोग गरेको आरोप

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा नक्सा पास नगरी भइरहेको घर निर्माणको विवादमा वडाध्यक्ष मुछिएका छन् ।

महानगरपालिकाले निर्माण कार्य रोक्का गर्न आदेश दिए पनि उजुरीकर्ता महिलाले वडाध्यक्ष प्रदीप चौरसिया माथि नै निर्माणकर्तालाई राजनीतिक संरक्षण दिँदै सहयोग गरेको गम्भीर आरोप लगाएकी छिन्।

वडा नं. ५ निवासी विन्द्यानन्द कुमारी बरैले लक्ष्मी चौरासियाका छोरा नवल चौरसियाले आफ्नो जग्गा मिचेर र महानगरबाट नक्सा पास नगराई घर निर्माण गरिरहेको भन्दै महानगरमा उजुरी दिएकी थिइन्। वडाध्यक्ष प्रदीप चौरसियाले राजनीतिक प्रभाव प्रयोग गरी बिना नक्सा पास भवन निर्माण गराउन सहयोग गरिरहेका निवेदिका बरैको दाबी छ ।

बरैले महानगरमा दिएको निवेदनमा नवल चौरसियाले कसैको कुरा नसुनी मनपरी ढंगले निर्माण कार्यलाई निरन्तरता दिएको र सोधपुछ गर्दा धाकधम्की समेत दिने गरेको उल्लेख छ।

विवाद बढेपछि वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले असोज ३० गते पत्रमार्फत नवल चौरसियालाई ७ दिनभित्र निर्माण कार्य रोक्का गरी नक्सा पास भए–नभएको सबुत प्रमाणसहित कार्यालयमा उपस्थित हुन कडा आदेश दिएको छ। यदि आदेश पालना नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही हुने चेतावनी पनि महानगरले दिएको छ।

तर, विवादको केन्द्रमा रहेकी निवेदिका बरैले महानगरको आदेशको बोधार्थ पठाइएका वडा कार्यालय वडा नं। ५ का वडाध्यक्ष चौरसियाले नै राजनीति गर्दै निर्माणकर्तालाई सहयोग गरिरहेको आरोप लगाएपछि, महानगरको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुनेमाथि शङ्का उब्जिएको छ।

यस विषयमा सत्यतथ्य पत्ता लगाउन महानगरले स्थलगत निरीक्षण गरी स्केच नक्सा र विवादको प्रतिवेदन पेश गर्न प्राविधिक टोली खटाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै