वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन र पार्टीको साख जोगाउन जोड दिएका छन् ।
देशको वर्तमान विषम परिस्थितिमा पार्टीले लिनुपर्ने निर्णयबारे केन्द्रीय कार्यसमिति बैठकमा आज आफ्ना धारणा राख्दै उनले निर्वाचनको विकल्प खोज्दा कांग्रेस युवा पुस्ताबाट मात्र नभई देशको राजनीतिबाटै असान्दर्भिक बन्न सक्ने चेतावनी दिए ।
डा. कोइरालाले वर्तमान सरकारलाई जेनजी पुस्तासहित सबै पक्षले निर्वाचनको म्यान्डेट दिएको भन्दै यो राष्ट्रिय भावधाराको विकल्प नभएको स्पष्ट पारे । उनले सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान अहिले ‘अर्धमूर्छित’ अवस्थामा रहेको बताउँदै ‘घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण’ नै भविष्यन्मुखी दिशा भएको उल्लेख गरे ।
उनले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार नियन्त्रणमा लिनुपर्ने र जेलबाट भागेका अपराधीहरूलाई युद्धस्तरमा खोजेर कानुनको कठघरामा ल्याउनुपर्नेमा जोड दिए । त्रासमा रहेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन नसक्ने भएकाले समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनले बताए ।
आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता असामाजिक कार्य गर्ने तत्वको पहिचान गरी प्रचलित कानुन बमोजिम दण्ड दिनुपर्ने बताए । पार्टीभित्र नयाँ ऊर्जा भर्न र नेतृत्वमा ताजगी ल्याउन डा. कोइरालाले २०८२ मंसिर महिनामा नै १५औँ महाधिवेशन गर्नुपर्ने माग गरे ।
उनले ‘विशेष महाधिवेशन’को सन्दर्भमा उठेका र हस्ताक्षर अभियानका माध्यमबाट व्यक्त भएका साथीहरूको भावनालाई समेत सम्बोधन गर्न नियमित महाधिवेशन अपरिहार्य रहेको बताए ।
उनले महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने ‘राष्ट्रिय निर्वाचन’मा कांग्रेसलाई पुनः एकपटक जागृत गराउने विश्वास व्यक्त गरे ।