जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा निर्धारित समयभन्दा ढिलाइ भएको छ। आज बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम तय भए पनि खबर तयार पार्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन।
यसैबीच, यसअघि शपथग्रहण समारोहमा निम्तो नपाएको भन्दै गुनासो पोखेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह भने अन्तिम समयमा आएको निमन्त्रणा स्वीकार गर्दै समारोहमा सहभागी भएका छन्। सिंहको उपस्थिति मधेसको राजनीतिक शिष्टाचारका लागि महत्त्वपूर्ण मानिएको छ।
लोसपा नेपालका नेता जितेन्द्रप्रसाद सोनल बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सोनलले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्री सोनलसँगै विना विभागीय मन्त्रीको रूपमा महेश यादव र गणेश पटेलले पनि शपथ लिने कार्यक्रम रहेको छ।