ट्रेन्डिङ

सुनको मूल्यले बनायो अर्को कीर्तिमान, तोलामा साढे २ लाख पुग्यो

वीरगन्ज । नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गर्ने क्रम जारी राखेको छ।

आज एकैदिन तोलामा २ हजार रुपैयाँको भारी वृद्धि भएपछि सुनको मूल्यले ऐतिहासिक २ लाख ५० हजारको आँकडा पार गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार, आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि, बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा, २४ घण्टाको अन्तरालमै सुनको मूल्यले २ हजार रुपैयाँको फड्को मारेको छ।

सुनको मूल्यमा यो निरन्तरको वृद्धि विश्व बजारमा देखिएको अस्थिरता, अमेरिकी डलरको मजबुती र भूराजनीतिक तनावजस्ता कारणहरूको प्रभाव मानिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो। सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो उछालले उपभोक्ताहरूलाई महँगीको थप मार परेको छ भने लगानीकर्ताहरूलाई भने यसले आकर्षित गरेको छ।

नेपाली बजारमा सुनको यो उच्च मूल्य आजसम्मकै सबैभन्दा महँगो रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै