ट्रेन्डिङ

जसपा नेपालको मधेश अधिवेशनमा एकपक्षले ‘हुलका हुल’ प्रतिनिधि छनौट गरेको आरोप, योगेन्द्र पक्षद्वारा बहिष्कार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेश प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रियामा ठूलो विवाद उत्पन्न भएको छ।

नेतृत्वका लागि निर्वाचन प्रक्रिया चलिरहेकै बेला अध्यक्ष पदका एकजना उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कार गर्ने घोषणा गर्दै निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन्।

मतदाता नामावली प्रकाशन गरी मनोनयन प्रक्रिया चलिरहेको अवस्थामा यादवले बहिष्कार गरेका हुन्। उनको यो निर्णयलाई रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरूले समेत समर्थन जनाएका छन् ।

अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको विधान विपरीत अधिवेशन भइरहेकोले आफूहरूले बहिष्कार गरेको बताएका छन्। उनको मुख्य आरोप अर्का उम्मेदवार बालकिशोर यादवतर्फ लक्षित छ।

योगेन्द्र यादवका अनुसार, यो अधिवेशन ‘कर्मकाण्डी’ हिसाबले मात्रै चलिरहेको छ र अर्का उम्मेदवारले विधानविपरीत आफूखुशी ‘हुलका हुल’ प्रतिनिधि छनौट गरेका छन्। यही कारणले आफूहरू अधिवेशनमा सहभागी हुने वातावरण नरहेको र बन्दसत्रमा समेत आफूहरूलाई महत्व नदिइएको उनको गम्भीर आरोप छ।

यादवले अधिवेशन बहिष्कार गर्ने घोषणा गरेसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरूले पनि निर्वाचन प्रक्रियाबाट हात झिकेका छन्।

यादवको यो ‘विद्रोह’लाई मधेश प्रदेशका केही प्रभावशाली नेताहरूको साथ प्राप्त भएको छ। बहिष्कार गर्ने पक्षलाई समर्थन गर्नेहरूमा मधेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह र पूर्व प्रदेश अध्यक्ष रामबाबु यादव जस्ता हेभिवेट नेताहरू समेत छन्।

एक पक्षको बहिष्कारसँगै जसपा मधेशको नेतृत्व चयन प्रक्रियामा अन्योल छाएको छ, र यसले पार्टीभित्र थप विवाद चर्काउने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै