वीरगन्ज । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ ।
निर्वाचनको प्रशासनिक कार्य र कार्यतालिकाको विषयमा सल्लाह र सुझाव लिन आयोगले प्रमुख राजनीतिक शक्तिहरूलाई आफ्नो कार्यालय कान्तिपथमा बोलाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश वा स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दललाई छलफलमा सहभागिताका लागि पत्र पठाइएको छ । ‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि निर्वाचित भएका दलहरूलाई पनि छलफल र राय परामर्शका लागि बोलाइएको छ,’ प्रवक्ता भट्टराईले स्पष्ट पारे ।
छलफल बिहान साढे ११ बजे आयोगको कार्यालयमा सुरु हुनेछ । प्रवक्ता भट्टराईले आजको बैठकमा आयोगले आफ्नो तयारीबारे जानकारी गराउने र दलहरूबाट निर्वाचन प्रक्रियालाई सुदृढ गर्न सकेसम्म धेरै सल्लाह सुझाव लिने तयारी गरेको बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि वर्तमान अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।
यसैबीच, आयोगले निर्वाचनमा सहभागी हुन चाहने नयाँ राजनीतिक दलहरूलाई आगामी कात्तिक मसान्तभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न समयसीमा तोकेको छ । यस छलफलले निर्वाचनको कार्यतालिकालाई अन्तिम रूप दिन र दलहरूको सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।