ट्रेन्डिङ

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल आज शपथ ग्रहण गर्दै

जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा सोनलको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

लोसपा नेपालका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

तर, जनमत पार्टी विभाजन भएको विवादबीच सोनलको नियुक्ति विवादरहित छैन।

कांग्रेस र एमालेले जनमत पार्टीका सबै सांसदको हस्ताक्षर अवैध भएको दाबी गर्दै उनको नियुक्तिको विरोध गरेका छन्।

मुख्यमन्त्री नियुक्तिको क्रममा बुधबार प्रदेश सभा परिसरमै एमाले–कांग्रेसका सांसदहरूले नाराबाजीसमेत गरेका थिए।

सो क्रममा सुरक्षा व्यवस्था कडा बनाइ प्रदेश प्रमुख भण्डारीले सोनललाई नियुक्तिपत्र प्रदान गरेकी थिइन्।

यसअघि जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए।

सिंहको राजीनामापछि सोनलले नयाँ गठबन्धनको समर्थनमा सरकार गठन गरेका हुन्।

यद्यपि, जनमत पार्टी विभाजन भई बनेको जनस्वराज पार्टीमा गएको घोषणा गरेका जनमतका दुई सांसद—निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्री त्रिभुवन साह—ले पनि सोनल नेतृत्वको सरकारलाई समर्थन रहने स्पष्ट पारेका छन्।

कांग्रेस–एमालेले भने जनमत पार्टी विभाजन भइसकेकाले ती सांसदहरूको हस्ताक्षर वैध नहुने भन्दै सोनलको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै