जनकपुरधाम । नेपालीहरूको महान पर्व शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बत ११४६ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित र मितव्ययी बनाउन विशेष अपिल गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाद्वारा जारी गरिएको अनुरोधमा चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना र अवाञ्छित गतिविधि नियन्त्रणका लागि विभिन्न सर्तकताहरू अपनाउन भनिएको छ।
प्रहरीले कानुनले बर्जित गरेका सम्पूर्ण किसिमका आतिशबाजी (पटाका, झिरझिरे, रकेट, भुईचम्पा)को प्रयोग नगर्न र नगराउन कडाइका साथ अनुरोध गरेको छ। यस्ता पदार्थको प्रयोगबाट आगलागी, दुर्घटना तथा जनधनको क्षति हुन सक्ने र ध्वनि प्रदूषण भई शान्ति सुव्यवस्थामा खलल पुग्ने प्रहरीको भनाइ छ।
यसैगरी, जुवातास, लङ्गुरबुर्जा, कौडा लगायतका कुनै पनि प्रकारका गैरकानुनी खेलहरू खेल्ने वा खेलाउने कार्य दण्डनीय अपराध भएकोले त्यस्ता गतिविधिहरू नगर्न र यसबारे थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
सुरक्षाका लागि मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन नचलाउन र होहल्ला नगरी आपसी सद्भाव कायम गर्न प्रहरीले आग्रह गरेको छ। मापसे गरेर सवारी चलाउँदा आफू र अरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। साथै, अत्यधिक आवाजमा डिजे बजाउँदा अशक्त, बिरामी र बालबालिकाहरूलाई असुविधा हुने भएकाले निश्चित समयसीमा र मापदण्डभित्र रहेर मात्र सीमित आवाजमा मनोरञ्जन गर्न भनिएको छ।
भीडभाडमा जाँदा वा किनमेल गर्दा आफ्नो नगद तथा गरगहनाको सुरक्षामा विशेष ख्याल राख्न र महँगो गरगहना नलगाउन पनि प्रहरीले सचेत गराएको छ। आफ्नो घररपसल छाडेर बाहिर जाँदा छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई खबर गरेर मात्र जान अनुरोध गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले कुनै पनि शङ्कास्पद गतिविधि वा अवाञ्छित घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी हटलाइन १०० मा खबर गरी अपराध नियन्त्रणमा सहयोग गरिदिनुहुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेको छ।