वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाका विभिन्न नाकाबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको भन्सार छलीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले आज ३ लाख १५ हजार १४५ रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१४, गण्डक चोकबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको BR22N 1080 नम्बरको मोटरसाइकलसहित २ लाख ९५ हजार १४५ रुपैयाँ बराबरको विभिन्न सामान नियन्त्रणमा लिएको हो। प्रहरीलाई देख्नेबित्तिकै उक्त सामान ल्याउने व्यक्ति मोटरसाइकल र सामान छाडेर भाग्न सफल भएका थिए।
यसैगरी, गण मातहतको बि.ओ.पि. अमरपटिबाट खटिएको टोलीले पनि पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट भन्सार छली गरी ल्याउँदै गरेको २० हजार रुपैयाँ बराबरको कम्प्युटर मोनिटर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका कुल ३ लाख १५ हजार १ सय ४५ रुपैयाँ बराबरका सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि गस्तीलाई थप कडा बनाएको जनाएको छ।