वीरगन्ज । हालैको जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगन्ज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्थाद्वारा सहयोग गर्ने कार्य निरन्तर जारी छ।
यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगन्ज इकाईले बुधबार वीरगन्ज महानगरपालिकालाई १० थान कम्प्युटर सेट (युपिएससहित) र ४ थान प्रिन्टर हस्तान्तरण गरेको छ। संघले यो सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अघि सारेको जनाएको छ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात तथा सूचना–प्रविधि उपकरण जलेर नष्ट भएका थिए, जसका कारण महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज परिस्थितिमा औषधी उत्पादक संघले पुर्याएको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताए । उनले भने, ‘महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण छ। संघप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र संघबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु।’
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुङगटाले कठिन परिस्थितिमा नगरको पुनःनिर्माणमा हातेमालो गर्न पाउनु गौरवको विषय भएको बताए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, संघका पदाधिकारीहरू विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी, र उमेश श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि सूर्य नेपालले पनि महानगरलाई कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री सहयोग गरेको थियो।
औषधी उत्पादक संघले गरेको यो सहयोगले महानगरको सेवा पुनःसञ्चालनका प्रयासमा थप गति प्रदान गर्ने र उद्योग–महानगरबीचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास वीरगन्ज महानगरपालिकाले व्यक्त गरेको छ।