ट्रेन्डिङ

मुख्यमन्त्रीमा दुई गठबन्धनको दाबी, प्रदेश प्रमुख कार्यालयमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा राजनीतिक तनाव बढ्दै जाँदा जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा सुरक्षा व्यवस्था ह्वात्तै बढाइएको छ।

बुधबार दिउँसो ४ बजेको समयसीमामा मुख्यमन्त्री पदका लागि दुई प्रतिस्पर्धी पक्षबाट दाबी पेश भएसँगै स्थिति थप संवेदनशील बनेको हो।

प्रदेश प्रमुखको कार्यालय र आसपासको क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सम्भावित झडप, हुलदङ्गा वा अराजक गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सतर्कता अपनाएको हो।

मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल र नेपाली कांग्रेसका कृष्णकुमार यादवले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पत्र बुझाएका छन्। दुवै पक्षका दलका नेता तथा कार्यकर्ताहरू दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका कारण थप सेना परिचालन गरी कार्यालय परिसरलाई नियन्त्रणमा लिइएको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णकुमार यादवले जनमत पार्टी विभाजन भइसकेकाले जनमत पार्टीका नेता महेश यादवले लोसपाका नेता सोनललाई दिएको समर्थन पत्रको कुनै अर्थ नरहने दाबी गरेका छन् ।

मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न दिइएको समयसीमा समाप्त भएपछि राजनीतिक दलहरूबीचको विवादले नयाँ मोड लिएको छ। जनमत पार्टीमा विभाजन आएको खबर सार्वजनिक भएपछि दुईवटै दाबीमाथि प्रश्न उठेको छ, जसले गर्दा प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिको निर्णय लिन कठिन हुने देखिएको छ।

वर्तमान राजनीतिक अन्योलका बीच कुनै पनि अप्रिय घटना हुन नदिन प्रदेश प्रमुख कार्यालय आसपासको क्षेत्रमा सुरक्षा निकायहरूले विशेष निगरानी बढाइरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै