वीरगन्ज । नेपाल प्रहरीले आफ्नो ७० औं दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी ‘समुदाय–प्रहरी साझेदारी’को मर्मअनुरूप समाज सेवामा समर्पित गरेको छ।
यसै सन्दर्भमा आज नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगन्ज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा वीरगन्ज–१५ स्थित भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा एक बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
सफाइ अभियानको नेतृत्व गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले प्रहरी दिवसलाई प्रहरी र समुदायबीचको विश्वास, सहकार्य तथा साझेदारी बलियो बनाउने अवसरका रूपमा व्याख्या गरे । उनले प्रहरीको दायित्व केवल कानून कार्यान्वयनमा मात्र सीमित नभई समाजसेवा र नागरिक सचेतनामा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं सहित प्रहरीका विभिन्न शाखाका अधिकारी र जवानहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रहरी अधिकारीहरूले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर र वरपरको क्षेत्रबाट फोहरमैला उठाउने, वातावरणीय सरसफाइ गर्ने र जनचेतनामूलक सन्देश फैलाएका थिए।
कार्यक्रममा डीएसपी लम्सालले यस्ता रचनात्मक अभियानहरूले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।