ट्रेन्डिङ

जनमतको ‘आधिकारिक’ दाबी लोसपाको पक्षमा, कांग्रेस गठबन्धनको हस्ताक्षरलाई ‘गलत’

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत चुलिएको बेला जनमत पार्टीले आफ्नो आधिकारिक अडान स्पष्ट पारेको छ।

जनमत पार्टीले आफ्नो समर्थन लोसपा संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनललाई नै रहेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएको छ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले आज बिहान लोसपाका नेता सोनललाई मुख्यमन्त्रीका रूपमा समर्थन गरिएको पत्र आधिकारिक रहेको व्यहोरा प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका हुन् ।
यसै क्रममा, नेता यादवले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि आफ्नो दलका सांसदहरूको हस्ताक्षर बुझाइएको भए त्यो गलत हो भनी स्पष्ट पारेका छन् ।
‘कांग्रेस नेतृत्वको दलले हाम्रो हस्ताक्षर बुझाएको हो भने त्यो गलत हो,’ नेता यादवले भने । उनले सत्ता समीकरणलाई लिएर मधेशमा राजनीतिक अन्योल बढेको र जनमत पार्टीको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने बताए ।

यसअघि पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएको छ। जनमत पार्टीको यो आधिकारिक पत्रले लोसपा नेतृत्वको पाँचदलीय गठबन्धन (जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी)ले ५७ सिटसहित बहुमतको सरकार बनाउने दाबी बलियो बनेको छ।

यद्यपि, कांग्रेस र एमालेलगायतका दलले पनि जनमतभित्रको असन्तुष्टिलाई उपयोग गर्दै पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई नै मुख्यमन्त्रीमा दोहोर्याउन कसरत गरिरहेको खबर बाहिरिएको थियो। उनले केही समयअघि जनमत पार्टीबाट फुटेर बनेको जन स्वराज पार्टीमा सनाखत गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै