जनकपुरधाम । मधेश प्रदेशको राजनीतिको पासा एक पटक फेरि नाटकीय रूपमा पल्टिएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत सुनिश्चित नभएपछि मङ्गलबार राजीनामा दिएसँगै यहाँको सत्ता सङ्कट नयाँ मोडमा पुगेको हो। प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समयसीमा तोकेपछि जनकपुरमा राजनीतिक दौडधुपले तीव्र रूप लिएको छ।
अहिलेको मुख्य प्रतिस्पर्धा लोसपाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धन र नेपाली कांग्रेस–नेकपा एमालेको अप्रत्याशित मोर्चाबीच देखिएको छ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेतृत्व लिँदै प्रदेश प्रमुखको कार्यालयमा संयुक्त दाबी पेस गरिसकेको छ ।
लोसपाले प्रमुख दुई शक्ति नेपाली कांग्रेस र नेकपा एमालेलाई बाइपास गरेर सरकार बनाउन खोजेपछि यी दुई दलले पनि तुरुन्तै ‘काउन्टर–अट्याक’मा उत्रिएका छन्।
कांग्रेस र एमालेका नेताहरू पनि जनमत पार्टीलाई आफ्नो साथमा लिएर प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् । उनीहरूको राजनीतिक कसरत भने हालै राजीनामा दिएका जनमतबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहलाई नै मुख्यमन्त्री बनाउने दिशामा केन्द्रित छ।
यस रणनीतिका पछाडि जनमत पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टिको फाइदा उठाउने प्रयास रहेको स्रोतको दाबी छ। आफ्नै पार्टीभित्रबाट असन्तुष्ट रहेका मुख्यमन्त्री सिंहलाई नै पार्टी फुटाएर भएपनि मुख्यमन्त्री कायम राख्न कांग्रेस र एमाले कसरत गरिरहेका छन्।
आज बिहान लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीका रूपमा अघि सार्दै पाँच राजनीतिक दलका नेताहरूले हस्ताक्षरयुक्त दाबीपत्र बुझाएका छन्। यस दाबीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेताहरूको समर्थन छ।
दाबीपत्र अनुसार, पाँचै दलको संयुक्त समर्थनले मधेश प्रदेशसभामा ५७ सिटको स्पष्ट बहुमत पुगेको छ। यसमा जसपाका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जना सांसदको समर्थन रहेको उल्लेख छ।
प्रदेश प्रमुखको कार्यालयले तोकेको आज दिउँसो ४ बजेसम्मको समयसीमाभित्र मधेशको सत्ताको समीकरण कुन दिशामा मोडिनेछ, त्यो हेर्न बाँकी छ। अहिले लोसपा र कांग्रेस दुवै आ–आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन अन्तिम राजनीतिक दौडधुपमा जुटेका छन्।