ट्रेन्डिङ

मन्त्रालय भागबन्डामा सहमति नमिल्दा मधेशमा सरकार गठनको छलफल निष्कर्षविहीन

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि मंगलबार रातिसम्म भएको दलहरूबीचको बैठक अन्ततः निष्कर्षविहीन बनेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले दिउँसो प्रदेश सभा बैठकमा राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच तीव्र राजनीतिक कसरत सुरु भएको थियो।

प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समय दिएका छन्।

त्यसैअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा नयाँ गठबन्धन बनाउने तयारीमा रहेका मधेश केन्द्रित दलहरूबीच मंगलबार राति जनकपुरमा लामो बैठक बसे पनि अन्तिम सहमति जुट्न सकेन।

स्रोतका अनुसार बैठकमा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा नीति–कार्यक्रमका मापदण्डमा भन्दा पनि मन्त्रालय भागबन्डाको विषयमा मतभेद देखिँदा सहमति टुङ्गो लाग्न सकेन।

बैठकमा सहभागी एक नेताका अनुसार, “सबै दलहरू नयाँ गठबन्धनमा सहमत छन्, तर कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति हुन नसक्दा छलफल रोकिनु परेको हो।’

बैठकमा सहमतिको नजिक पुगिए पनि अन्तिम टुङ्गो नलागेपछि बुधबार बिहान साढे ७ बजे पुनः बैठक बस्ने निर्णय गरिएको छ।

मधेश प्रदेशसभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सदस्य आवश्यक पर्छ। लोसपा (९), जसपा नेपाल (१९), जनमत पार्टी (१३), नेकपा (माओवादी केन्द्र) (९) र नेकपा (एकीकृत समाजवादी) (७) मिलेर ५७ सिट हुने भएकाले स्पष्ट बहुमतको सम्भावना छ।

अब बुधबार बिहान हुने बैठकमा मन्त्रालय भागबन्डा र नेतृत्वको अन्तिम टुङ्गो लागेपछि दिउँसोभित्र नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै