जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।
प्रदेश प्रमुखको कार्यालय, जनकपुरधनुषाले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको हो।
दाबी पेश गर्ने अन्तिम समय भोली असोज २९ गते बुधबार दिनको ४ बजेभित्रको समय दिइएको छ ।
निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९ उपधारा १ को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए, जुन आजै माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गरेकी छन् ।
नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि आह्वान भएसँगै अब कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने बाटो खुलेको छ।
