सिरहा । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई विशेष महाधिवेशन बोलाउन दबाब दिने उद्देश्यले सिरहामा करिब ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाएका छन्।
सिरहामा दुई पक्षले छुट्टाछुट्टै हस्ताक्षर संकलन गरेका छन्, जसले गर्दा विशेष महाधिवेशनको माग गर्नेहरूको संख्या ह्वात्तै बढेको छ।
पार्टीको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। सिरहामा संकलन भएको हस्ताक्षरको यो संख्या ४० प्रतिशतको सीमाभन्दा निकै माथि छ।
जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार सिरहाको क्षेत्र–१ मा १९, क्षेत्र–२ मा १२, क्षेत्र–३ मा २५ र क्षेत्र–४ मा १९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। पार्टीको विभागबाट मनोनीत महाधिवेशन प्रतिनिधिहरूले पनि हस्ताक्षर गरेका छन्।
सुरुमा जिल्ला सचिव यादव, सहसचिव रामबाबु यादव र उपसभापति सुनिल महतोको समूहले हस्ताक्षर अभियान चलाएको थियो। पछि महासमिति सदस्य डाक्टर सुभाष चन्द्र यादवले पनि छुट्टै हस्ताक्षर गराउन थालेपछि संख्या ८० प्रतिशत पुगेको हो।
देउवा पक्षका मानिने मधेश प्रदेश महामन्त्री उपेन्द्र यादवसहित जिल्लाका पदाधिकारीहरूले पनि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन्।
यद्यपि, शेखर कोइराला पक्षमा रहेका दाबी गरिएका नरेश यादव, प्रदेश सभा सांसद जिवछी यादव र रामदयाल यादव लगायत केही नेताहरूले भने नियमित महाधिवेशनकै पक्षमा रहेको बताएका छन्। तर, सोही पक्षका जिल्ला सभापति प्रत्यासी रामसुन्दर चौधरी, पुनम चौधरी र अरुण केसी लगायतका नेताहरूले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।
महासमिति सदस्य तथा ट्रेड युनियन कांग्रेस सिरहाका सभापति संजीव उपाध्यायले वर्तमान नेतृत्व चुनावमा जाँदा पार्टीलाई थप क्षति हुने भएकाले चुनावअघि नै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन्। उनले नियमित महाधिवेशन नभए पनि विशेष महाधिवेशनमा जानैपर्ने भन्दै आफूले पनि हस्ताक्षर गरेको बताएका छन्।