जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।
प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाका अनुसार मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ (४) बमोजिम विश्वासको मत लिने कार्यसूची राखिएको हो।
मुख्यमन्त्री सिंहले विश्वासको मत पाउने सम्भावना न्यून रहेको बताएका छन्।
उनले विश्वासको मत नपाए पनि सदनमा आफ्नो धारणा राख्ने तयारी रहेको बताएका छन्।
यसअघि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्त रूपमा सरकार गठनको दाबी पेस गरेका थिए।
तिन दलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरी प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरिसकेका छन्।