वीरगन्ज। पर्सा प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको ठूलो परिमाणको हुण्डीको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो करिब १२ बजे वीरगन्ज महानगरपालिका–१०, आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन्।
प्रहरी टोलीले कानूनी रित पुर्याएर खानतलासी गर्दा यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट ५०० दरका ८६८ थान नोट अर्थात् जम्मा ४ लाख ३४ हजार नेपाली रकम फेला पारेको हो।
उक्त रकमको स्रोत नखुलेकाले हुण्डी कारोबारमा प्रयोग भएको आशंकामा प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका किशन यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर) बमोजिम मुद्दा चलाइएको छ।
जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइसकेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।