जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन सुरु भएको छ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा आजबाट आयोजित दुई दिवसीय मधेश प्रदेश अधिवेशनको भव्य समारोहलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले समुद्घाटन गरेका छन् ।
आठवटै जिल्लाका पाँच सयभन्दा बढी प्रतिनिधि तथा करिब एक हजार नेता कार्यकर्ताहरूको उपस्थिति रहेको समारोहमा नेताहरूले परिवर्तन र प्राप्त उपलब्धिहरूको रक्षाका लागि सशक्त नेतृत्वको आवश्यकतामा जोड दिएका छन्। नेताहरूले आगामी क्रान्तिका लागि तत्काल उपेन्द्र यादवको विकल्प नरहेको र उनकै नेतृत्वमा मधेश पुनः एकताबद्ध हुने धारणा राखेका छन्।
नेता रामकुमार शर्माले देशको सत्ता काठमाडौँ र मधेशबाट मात्र हल्लिने कुरा विगतका घटनाहरूले पुष्टि गरिसकेकाले मधेशमा सशक्त नेतृत्व स्थापित गर्न सके देश आफू अनुकूल हुने बताए।
अधिवेशनको बन्दसत्र भोलि हुनेछ, जसले मधेश प्रदेशका लागि जसपा नेपालको नयाँ नेतृत्व चयन गर्नेछ। प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र युवा नेता तथा केन्द्रीय सदस्य योगेन्द्र रायले दाबी प्रस्तुत गरेका छन्।