वीरगन्ज । वीरगन्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा महत्त्वपूर्ण छलाङ मार्दै करिब ४ करोड रुपैयाँको लगानीमा ‘जीरो वेस्ट’ सहरको परिकल्पना साकार पार्ने दिशामा अघि बढेको छ।
यस सम्बन्धमा आज वीरगन्ज महानगरपालिका, Zero Waste Initiative Nepal र निजी क्षेत्रको प्रतिष्ठित कम्पनी Surya Nepal Pvt. Ltd बीच एक ऐतिहासिक त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
यो परियोजना पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा सञ्चालन हुनेछ। सम्झौताको मुख्य विशेषता के छ भने, परियोजना निर्माण सम्पन्न भएपछि सम्पूर्ण संरचना र व्यवस्थापन प्रणाली वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।
मेयर राजेशमान सिंहको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा महानगरपालिकाका प्रशासकीय प्रमुख अरबिन्द लाल कर्णसहित साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
परियोजनाले शहरभित्र उत्पन्न हुने दैनिक फोहोरलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने, पुनःप्रयोग र रिसाइकलिङ प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। यसका लागि आधुनिक फोहोर संकलन केन्द्र, कम्पोस्ट प्लान्ट र रिसाइकलिङ प्रणाली स्थापना गर्ने तयारी छ।
मेयर सिंहले यो सम्झौता ‘वीरगन्जलाई सफा, हरित र दिगो सहर बनाउने हाम्रो प्रतिबद्धताको एउटा ठोस पहल हो’ भन्दै, ‘अब वीरगन्जले फोहोरलाई समस्या होइन, समाधानको उदाहरण प्रस्तुत गर्नेछ’ भन्ने विश्वास व्यक्त गरे।