जनकपुरधाम। मधेश प्रदेशकी शिक्षा, विज्ञान, प्रविधि तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।
प्रदेश सभामा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने तयारी गरिरहेको समयमा मन्त्री तिवारीको राजीनामा आएको हो ।
मन्त्री तिवारीले आजनै मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पेश गरेकी हुन्। उनले आफ्नो राजीनामा पत्रमा ‘आजको मितिबाट लागू हुने गरी’ शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन्।
रानी कुमारी तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी तर्फबाट प्रदेश सभा सदस्य हुन्। लोसपाले मुख्यमन्त्री सतिश सिंहको सरकारलाई समर्थन गरिरहेको थियो। तर, प्रमुख सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेका छन्।
भोलि, मंगलबार दिउँसो १ बजे मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिँदै छन्।
लोसपा नेपालद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
यसैबीच मधेश प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदै जाँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
लोसपा नेपाल, संसदीय दलको कार्यालयले आज प्रदेश प्रमुखको कार्यालयमा संसदीय दलका नेता जयन्ल राईनले हस्ताक्षर गरेको औपचारिक पत्र दर्ता गराउँदै समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
