जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो पद जोगाउनका लागि अन्तिम संवैधानिक प्रयास गर्दैछन्।
दुई प्रमुख साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सिंहले असोज २८ गते भोली मंगलबार प्रदेश सभाको छैठौं अधिवेशनमा विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार, असोज २८ गते दिनको १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावमाथि छलफलपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून हुँदै गर्दा, मुख्यमन्त्री सिंहले प्रदेश सभा सदस्यहरूलाई व्यक्तिगत रूपमा फोन सम्पर्क गरी सहयोग मागिरहेका छन्। नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्री सिंहले आफूलाई फोनमार्फत सहयोगका लागि आग्रह गरेको पुष्टि गरे। उनी अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका प्रमुख दलका नेताहरूसँग सम्पर्कमा छन्।
एमाले र कांग्रेसले समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्री सिंहको सरकारले स्पष्ट बहुमत गुमाइसकेको छ। अल्पमतमा परेसँगै, नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि जनमत पार्टीसहितको विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी समेत पेश गरिसकेको छ।
मधेश प्रदेश सभामा बहुमतका लागि आवश्यक ५४ सदस्यको समर्थन गुमाइसकेको र विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेकाले, मुख्यमन्त्री सतिश कुमार सिंहले भोलिको मतदानमा विश्वासको मत प्राप्त गर्ने सम्भावना गणितीय रूपमा अत्यन्तै कम रहेको देखिन्छ। यद्यपि, उनले संवैधानिक प्रक्रिया पूरा गर्नका लागि विश्वासको मत लिने अडान भने कायम राखेका छन्।