ट्रेन्डिङ

प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री सतिश सिंहको फोन, भने– ‘मलाई सहयोग गर्नुस्’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफ्नो पद धरापमा परेसँगै प्रदेश सभा सदस्यहरूलाई व्यक्तिगत फोन सम्पर्कमा जुटेका छन्।

मुख्यमन्त्री सिंहले असोज २८ गते भाली प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहँदा, उनले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका नेताहरूसँग फोन गरेर सहयोगको आग्रह गरिरहेका छन्।

विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून हुँदै गर्दा, मुख्यमन्त्री सिंहले प्रदेश सभा सदस्यहरूलाई व्यक्तिगत रूपमा फोन गरेर सहयोग मागिरहेका छन्। नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्री सिंहले आफूलाई फोनमार्फत सहयोगका लागि आग्रह गरेको पुष्टि गरे। उनी अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेश केन्द्रित दलका नेताहरूसँग फोन सम्पर्कमा छन्।

मुख्यमन्त्री सिंहको सरकारबाट दुई ठूला साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले औपचारिक समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परिसकेका छन्। अल्पमतमा परेसँगै, कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि जनमत पार्टीसहितको विपक्षी गठबन्धनले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी पेश गरिसकेको छ।

प्रदेश सभामा बहुमत गुमाए पनि मुख्यमन्त्री सिंहले संवैधानिक प्रक्रिया अन्तर्गत विश्वासको मत लिने अडान लिएका छन्। तर, गणितीय रूपमा ५४ सदस्य गुमाइसकेकाले भोलिको मतदानमा उनले विश्वासको मत प्राप्त गर्ने सम्भावना अत्यन्तै कम देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै