वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको भन्दै तीनजना पदाधिकारी तथा ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले नगरपालिका–३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन ठेक्कासम्बन्धी प्रक्रियामा गैरकानूनी कार्य भएको निष्कर्ष निकालेको छ। आरोपपत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र ठेकेदार कम्पनी रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णको मिलेमतो रहेको उल्लेख छ।
अख्तियारका सहसचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार, आर्थिक वर्ष २०७७–७८ मा विद्यालय भवनको बोलपत्र आह्वान र स्वीकृतिको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, तीनै प्रतिवादीले आपसी मिलोमतोमा ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ नामक सीमित प्रति भएको पत्रिकामा सूचना प्रकाशित भएको झुट्टा आधार देखाएर ठेक्का प्रक्रिया अघि बढाएका थिए।
पत्रकार परिषद् नेपालको प्रमाणबाट ती सूचनाहरू वास्तविक रूपमा प्रकाशित नभएको पुष्टि भएपछि अख्तियारले यस कार्यलाई भ्रष्टाचारको श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको हो।
प्रतिवादीहरूले झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई झुट्टा बील र भरपाइमार्फत २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको प्रमाण अख्तियारले फेला पारेको छ।
आयोगले यो मिलेमतोपूर्ण कार्यले नगरपालिकालाई आर्थिक हानि पुर्याउने र उनीहरूले व्यक्तिगत लाभ लिने उद्देश्य राखेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।